नियम १२०
पहिलेको सेवा अवधिको गणना
(१) कर्मचारीको पहिलेको सेवा अवधिको गणना गर्दा देहाय बमोजिम गणना गरिनेछ ः-
(क) बढुवाको लागि जेष्ठता गणनाको प्रयोजनको निमित्त पहिले सरकारी सेवा वा पदमा स्थायी नियुक्ति भई गरेको सेवा अवधि (बीचमा टुटेको भए टुटेको अवधि कटाई) बापत शत प्रतिशत र पहिले विकास तर्फको पदमा सेवा गरी सो सेवालाई अविछिन्न राखी तथा पहिले साधारणतर्फको पदमा एक वर्षभन्दा बढी अस्थायी सेवा गरी सो सेवालाई अविच्छिन्न राखी व्यवस्थापिका–
संसद सेवातर्फ स्थायी नियुक्ति पाएका कर्मचारीको साविकको विकास वा अस्थायी सेवा अवधिको गणना देहाय बमोजिम गरिनेछ ः-
(१) राजपत्रांकित प्रथम श्रेणीमा गरेको सेवा अवधि बापत तेत्तीस प्रतिशत
(२) राजपत्रांकित द्वितीय श्रेणीमा गरेको सेवा अवधि बापत पचास प्रतिशत
(३) राजपत्रांकित तृतीय श्रेणीमा गरेको सेवा अवधि बापत छैसट्ठी प्रतिशत
(४) राजपत्र अनंकित श्रेणी र परिचर पदमा गरेको सेवा अवधि बापत पचहत्तर प्रतिशत
(ख) निवृत्तभरणको प्रयोजनको निमित्त पहिले सरकारी सेवा वा पदमा स्थायी नियुक्ति भई गरेको सेवा अवधि (बीचमा टुटेको भए टुटेको अवधि कटाई) र साधारणतर्फको पदमा एक वर्ष वा सो भन्दा बढी अवधि अस्थायी रूपमा गरेको सेवा शत प्रतिशत गणना गरिनेछ ।
(ग) खण्ड (ख) मा जुनसुकै कुरा लेखिएको भए तापनि उमेरको हदले अनिवार्य अवकाश भएको कर्मचारीको स्थायी सेवा अवधिले मात्र निवृत्तभरण प्राप्त गर्न आवश्यक पर्ने सेवा अवधि पुरा नभएमा स्थायी सेवा भन्दा अगाडि निरन्तर रूपमा विकास तर्फ सेवा गरेको र सो सेवा बढुवाको लागि जेष्ठता गणनाको प्रयोजनको निमित्त हालको स्थायी सेवामा जोडिएको भएमा सो मध्ये निवृत्तभरण प्राप्त गर्नको लागि आवश्यक पर्ने सेवा अवधि मात्र थप गरी निवृत्तभरण प्रदान गर्न सकिने छ ।
(२) उपनियम (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि पहिले गरेको सरकारी सेवा बापत उपदान पाइसकेको व्यक्ति पुन व्यवस्थापिका–संसद सेवाको पदमा नियुक्त भएमा निजले पहिले पाएको उपदानको रकम फिर्ता गरेमा मात्र निजको पहिलेको सेवा अवधि यस नियम बमोजिम गणना गरिनेछ ।
(३) यो नियमावली प्रारम्भ भएपछि नियुक्ति पाएका कर्मचारीले नियुक्ति पाएक  मितिले एक वर्ष भित्र यस नियम बमोजिम सेवा अवधि जोडाई सकेको हुनु पर्नेछ । उक्त अवधि भित्र सेवा अवधि नजोडाएमा त्यस्तो सेवा अवधि पछि जोडिने छैन ।
(४) उपनियम (३) बमोजिम पहिले गरेको सेवा अवधि हालको सेवामा जोडाउने कर्मचारीले सेवा जोडाउनु पहिले लिएको अध्ययन बिदा, असाधारण बिदा, उपचार खर्च र बिमा अभिलेखको विवरण निजामती कितावखानामा पेश गर्नु पर्नेछ ।
स्पष्टीकरण :- यस नियमको प्रयोजनको लागि “सरकारी सेवा” भन्नाले निजामती सेवा र नेपाल स्वास्थ्य सेवा सम्झनु पर्छ ।